२०८० फागुन १८ शुक्रबार

राशिफल

लघुकथा : सिंह र बिरालो

डा. टीकाराम पोखरेल –

जंगलको राजा सिंह थियो । जंगल मेरो साम्राज्य हो, यहाँको राजा अरु कोही हुन सक्तैन, म हिजो यहाँको राजाँ थिएँ, आज छु र भोलि पनि म नै राजा रहिरहनेछु भन्ने सिंहलाई ठूलो घमण्ड थियो ।

राजाले सबैलाई समान न्याय गर्नुपर्ने हो, तर सिंह सबैलाई न्याय गर्दैनथ्यो । सिंहले जति अन्याय गरे पनि जंगलका अरु जनावरहरु सिंहको विरुद्ध आवाज उठाउन सक्तैनथे । सबै जनावर सिंहसँग डराउँथे । डरकै कारण जनावरहरु सिंहको कुशासन टुलुटुलु हेरेर बसेका थिए ।

गाउँघरतिर बस्ने बिरालाहरु जंगलमा भएको सिंहको ज्यादतिको बारेमा जानकार थिए । उनीहरु बेलाबेलामा जंगल पसेर सिंहलाई चुनौती दिन्थे। सिंहले झम्टिहाल्यो भने दौडेर आएर घरतिर लुक्थे ।

जंगलमा सिंहको ज्यादति अति हुन थाल्यो । एक दिन बिरालाहरुलाई झोक चल्यो । उनीहरुले सिंहका विरुद्ध जेहाद छेडे । बिरालाहरुले जंगलका अरु जनावरहरुलाई पनि सिंहको ज्यादति विरुद्ध बोल्न प्रेरित गरे ।

जंगलका जनावरहरु सिंहका विरुद्ध बोल्न थाले । जनावरहरुले सिंहको विरुद्धमा आवाज उठाउन थालेपछि सिंह गर्जियो । तर यसपटक जनावरहरु डराएनन्, उनीहरुको भरोसा बिरालो थियो । जंगलका जनावरहरुले सिंहको ज्यादति विरुद्ध आन्दोलन सुरु गरे ।

आफ्नो साम्राज्यका जनावरलाई उचालेकोमा सिंहले बिरालोलाई चुनौती दियो । जंगलका अरु जनावरको साथ आफूले पाएकोले बिरालो पनि डराएन । बिरालो र अरु जनावर नडराएपछि सिंह अलि हच्कियो । सिंह रक्षात्मक बन्यो । तर जंगलमा सिंहको विरुद्ध आन्दोलन मत्थर भएन ।

******

एक दिन सिंहलाई हटाएर जंगलका जनावरहरुले बिरालोलाई जंगलको राजसिंहासनमा राख्ने निर्णय गरे । आफूलाई राजसिंहासनमा बिराजमान गराउने निर्णय गरेकोमा बिरालोले सबै जनावरप्रति कृतज्ञता प्रकट गर्यो ।

बिरालो लुसुक्क गएर राजसिंहासनमा बस्यो । सिंहासनमा बसेपछि बिरालो घुर्रर्रर घुर्यो । जंगलका जनावरहरु अचम्ममा परे । ओहो १ बिरालोको घुराई त बाघको जस्तै पो छ त । उनीहरुले राजसिंहासनमा बिराजमान गराइएको बिरालोको अनुहारतिर नियालेर हेरे । बिरालो घुराई मात्र होइन, अनुहार पनि ठ्याक्कै बाघको जस्तै थियो ।

बिरालोको घुराई र अनुहार पहिले नै ठम्याउन नसकेकोमा जंगलका जनावरहरुलाई पछुतो भैरहेको थियो । घडीको सुई निरन्तर घुमिरहेको थियो । समय निकै ढीला भैसकेको थियो ।