२०८० असोज १० बुधबार

राशिफल

अछामका पहिरो पिडितलाई हेलिकोप्टरबाट उद्धार गर्न गहृमन्त्रीको निर्देशन

काठमाडौं  :  गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।

उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेका छन् ।

गृहमन्त्रालयमा भएको रिपोर्टिङ अनुसार अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म नौ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।

त्यस्तै ढकारी गाँउपालिकामा १ घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनको भनाइ छ । तुर्माखाद गाँउपालिकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले उद्धारकार्यमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताएका छन् ।