२०७९ असोज १८ मङ्गलबार

राशिफल

मिटरब्याजी अनिरुद्ध साह पुर्पक्षका लागि जेल चलान

काठमाडौं  :  महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पुर्पक्षका लागि जेल चलान भएको छन् । ठगी तथा अपराधी विश्वासघात मुद्दामा जिल्ला अदालत महोत्तरीलाई उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

मिटरब्याजी पीडितहरुको उजुरीको आधारमा प्रहरीले उनलाई भंगहा नगरपालिका ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले बुधवार उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार मदन प्रसाद जयसवालले जानकारी दिए ।

महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले मिटरब्याजीको आरोप लागेका साह अदालतको आदेशबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएको जानकारी दिए । उनका अनुसार साहविरुद्ध हालसम्म १९ जना जाहेरी दिएको छ । पीडितहरुबाट जाहेरी आउनेक्रम अझै जारी छ ।

साह धनुषा र महोत्तरी लगायत जिल्लाका कैयौं व्यक्तिलाई ऋण दिएर चर्को ब्याज उठाउने धन्दामा लामो समयदेखि सक्रिय थिए ।