२०७९ असोज १८ मङ्गलबार

राशिफल

रुसमा सेना परिचालन गर्ने घोषणापछि प्रदर्शन

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी एक हजारभन्दा धेरैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ ।

जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन् । रुसबाट बाहिरिने धेरैजसो उडान पूर्ण रूपमा बुकिङ भएका एअरलाइन्स र ट्राभल एजेन्टले जनाएका छन् । एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत देश अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानको टिकट पूरै बिक्री भएका छन् ।

टर्किस एअरलाइन्सले आफ्नो वेबसाइटमा रूस जाने र आउने उडानहरूका लागि महत्त्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिवारसम्मका सबै टिकट बुक भएका जनाएको छ ।

आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ । रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ । तर अहिले तीन लाख सेना परिचालन हुने रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई उद्धृत गरी बीबीसीले जनाएको छ।