२०८० असोज १० बुधबार

राशिफल

राष्ट्रपतिकाे कदमविरुद्ध संयुक्त विद्यार्थी सङ्गठन आज पनि सडकमा (तस्बिरहरू)

काठमाण्डौ : संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन संयुक्तरूपमा विरोध प्रदर्शनमा सहभागी छन् ।

विरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको आरोप लगाउनुभयो । उहाँले बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको बताउनुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठनकी अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको जिकिर गर्नुभयो । उहाँले राष्ट्रपतिलाई शीतल निवासमा बस्ने अधिकार नरहेको भन्दै त्यहाँबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठनकासभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाउनुभयो । उहाँले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्न नमिल्ने बताउनुभयो । नागरिकताजस्तो संवेदनशील विषयलाई नेकपा एमालेले  चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको उहाँको आरोप थियो ।

विरोध प्रदर्शनमा सहभागीहरूले राष्ट्रपतिविरुद्ध विभिन्न नारा पनि लगाएका थिए । संयुक्त विद्यार्थी सङ्गठनले विरोधको कार्यक्रमअन्तर्गत असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गर्ने बताएको छ ।