२०८० असोज १० बुधबार

राशिफल

एमालेलाई राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न नेविसंघ अध्यक्ष शेर्पाको चेतावनी

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) दुजाङ शेर्पाले एमालेले आफ्नो झण्डा बिक्न छोडेपछि राष्ट्रिय झण्डाको दुरुपयोग गरेको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्धमा संयुक्त विद्यार्थी संगठनले आयोजना गरेका विरोध प्रदर्शनमा अध्यक्ष शेर्पाले केही दिनदेखि एमालेले राष्ट्रिय झण्डाको दुरुपयोग गरी नाटक गरिरहेको बताए ।

‘एमालेले केही दिनदेखि नाटक गरिरहेको छ । एमालेको झण्डा पछाडि राखेर राष्ट्रिय झण्डा दुरुपयोग गरिरहेको छ,’उनले भने, ‘केपी ओली एड कम्पनीका महेश बस्नेतहरुलाई राष्ट्रिय झण्डाको अपमान नगर्न खबरदारी गर्न चाहन्छु ।’
संविधान च्यातेर मुलुकमा संकट निम्त्याउन खोज्नेहरूले राष्ट्रिय झण्डा बोकेर भ्रमण सिर्जना गर्न खोजेको उनको भनाइ छ । ‘तपाईहरु संविधान च्यात्नुहुन्छ । मुलुकमा संकट निम्त्याउन चाहनुहुन्छ,’ अध्यक्ष शेर्पाले भने, ‘अनि राष्ट्रको झण्डा प्रयोग गरेर भ्रम सिर्जना गर्न पाइन्छ रु यो काम तत्काल बन्द गर्न म चेतावनी दिन चाहन्छु ।’

यस्तै उनले संसदका दुबै सदनले दोहोर्याए पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानको अवज्ञा गरेको उनले बताए । ‘राष्ट्रपति विद्यादेवी भण्डारी विगतमा केपी ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक कदमको मतियार बन्नुभयो,’ अध्यक्ष शेर्पाले भने, ‘उहाँले हिजो केपी ओलीले नागरिकता सम्बन्धि अध्यादेश ल्याउँदा रातारात प्रमाणीकरण गर्नुभयो । तर नेपालको सार्वभौम संसदले दोहोर्याएर पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको अवज्ञा गर्नुभएको छ ।’

संविधान नमान्ने केपी ओलीलाई बालकोट पुर्याए जस्तै राष्ट्रपति भण्डारीलाई चपली हाइट पठाउने दिनगन्ती सुरु भएको उनले बताए । ‘बारम्बार संविधान च्यात्न प्रयास भएपछि केपी ओलीलाई बालकोटमा पुर्याए जस्तै विद्यादेवी भण्डारीलाई चपली हाइटमा पुर्याउने चाँडै आउँदैछ । उहाँको दिनगन्ती सुरु भयो,’ अध्यक्ष शेर्पाले भने ।