काठमाडौ : सोमबार बिहान ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाटका फरार लुटेरालाई खोज्न प्रहरीले रातभर सर्च एण्ड स्वीप अपरेसन चलाएको छ । लुटपाटमा संलग्न तीन फरार लुटेराको खोजीका लागि प्रहरीले ताप्लेजुङ र इलाममा सर्च एण्ड स्वीप अपरेसन चलाएको हो ।
प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोली रातभर दुई जिल्लाका जङ्गलमा सर्च अपरेसनका लागि खटिएको छ । लुटेराहरू जङ्गल पसेको हुनसक्ने अनुमानका आधारमा दुई जिल्लाका प्रहरी लुटेराको खोजीमा जङ्गल चहारेका हुन् ।
चारजनाको समूहमा आएका लुटेराहरूले सोमबार बिहान फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरबाट नगद र सुन लुटपाट गरेका थिए । लुटपाटमा संलग्नमध्ये एकजनालाई सोमबार दिउँसो फुङलिङ नजिकैको जङ्गलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले जङ्गलमा अपरेसन चलाउँदा दुईपटक उनी लुक्न सफल भएका थिए । तर लुटेरा जङ्गल पसेको देखेका स्थानीयको सूचनाको आधारमा प्रहरीले सोही जङ्गलमा तेस्रो पटक सर्च अपरेसन चलाउँदा बुट्यानको मुनी सुतेर लुकिरहेको अवस्थामा प्रहरीले ती लुटेरालाई पक्राउ गरेको थियो ।
प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोलीले सोमबार रातभर जङ्गलमा सर्च अपरेसन चलाएको छ । त्यसैगरी लुटेराहरू भागेको सम्भावित क्षेत्रमा स्वीप अपरेसन जारी रहेको छ । लुटेराहरू नाका पार गर्न नपायोस् भनेर ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । यद्यपि लुटेराहरू जङ्गल छिरेको प्रहरीको अनुमान छ ।
तपाइँको प्रतिक्रीया