२०७९ मंसिर १५ बिहीबार

राशिफल

काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति

काठमाडौं : काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् ।

मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन् । हंगेरीको स्थानीय गीत–संगीतको प्रस्तुति बेजोड देखिएको थियो ।

हंगेरीको लोकसंस्कृति प्रदर्शनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो । सन् २०१८ मा स्थापना भएको संस्थाले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई विस्तार गर्न यो कार्यक्रमको आयोजना भएको वरिष्ठ कलाकार कृष्ण मल्लले बताउनुभयो ।

उहाँले दुई देशबीचको संस्कृति आदान–प्रदान गरी सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले संगीतको माध्यमबाट दुई देश बीचको सम्बन्ध झनै सुधार हुने र बढ्ने विश्वास व्यक्त गर्नुभयो । संगीतले सबै क्षेत्र र समुदायलाई एकसाथमा समेट्ने भएकोले संगीत कुनै भाषा र शब्दमा समेट्न जरुरी नरहेको बताउनुभयो। उहाँले सांस्कृतिक कार्यक्रमहरूले नेपाल र हंगेरीबीचमा पनि एकअर्काका संस्कृतिहरूको साटासाट गर्ने अवसर मिल्ने बताउनुभयो ।

नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राममा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कलाकारलाई नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सको तर्फबाट सम्मान गरिएको थियो ।