२०७९ माघ २३ सोमबार

राशिफल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको :  कांग्रेस नेता कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।

संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।

पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइरालापक्षको बैठक बत्तीसपुतलीमा जारी छ ।