२०७९ माघ २३ सोमबार

राशिफल

आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाण्डौ   :  सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उहाँको ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले उज्यालोलाई जानकारी दिनुभयो ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाउनुभएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताउनुभयो । आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताउनु भएको थियो ।

स्टाटसमा उहाँले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित सङ्घर्ष र भोगाइबारे उल्लेख गर्नु भएको थियो । जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उहाँले लेखेको स्टाटसमा उल्लेख छ । आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उहाँले उल्लेख गर्नु भएको थियो । आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उहाँले स्टाटसमा लेख्नु भएको छ ।