२०७९ चैत १२ आइतबार

राशिफल

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विशेष कार्यक्रमका साथ मनाउँदै

काठमाण्डौ  :   आज ग्याल्पो ल्होसार । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ ।

ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत देश निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनेर राष्ट्रपति भण्डारीले कामना गर्नु भएको छ ।