२०८० जेठ २७ शनिवार

राशिफल

मुलुकको अर्थतन्त्रका बारेमा अनावश्यक भ्रम नछर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रका बारेमा अनावश्यक भ्रम नछर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र श्रीलंकको जस्तो हुने कुरा साँचो नभएको भन्दै अर्थतन्त्रका बारेमा आतंकित पार्ने झुटो कुरा कसैले गर्न नहुने बताउनुभएको हो । उहाले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशातर्फ अघि बढ्ने संकेत प्राप्त भएकाले सरकारको कार्यक्रम र बजेट अर्थतन्त्रलाई लयमा ल्याउनेमा केन्द्रीत गरिने बताउनुभयो ।

उहाले अहिलेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको भन्दै यसको बिरोध गर्नुपर्ने कुनै कारण नभएको धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरी लक्ष्य हासिल गर्ने दृढ संकल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।

आयात व्यवस्थापन र निर्यात प्रवद्र्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले उहाले आफ्नो निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा समकक्षीसंग भेट हुने र राष्ट्रिय हितका साथै नेपाल भारत सम्बन्धका समस्यामा बारेमा पनि प्रष्ट ढंगले कुरा गर्ने बताउनुभयो । भ्रमणका क्रममा मल कारखाना स्थापना गर्ने बिषयमा पनि कुराकानी हुने उहाको भनाइ छ ।